दरमखोला हाइड्रोपावरबाट व्यावसायिक उत्पादन सुरु, बागलुङमा सबैभन्दा ठूलो परियोजना सञ्चालनमा
Author
NEPSE TRADING

बागलुङ — करिब १७ वर्षअघि अनुमति लिएर निर्माण सुरु गर्न ढिला भएको दरमखोला हाइड्रोपावरले अखेर व्यावसायिक उत्पादन सुरु गरेको छ। विसं २०७७ देखि पुनः प्रारम्भ गरिएको निर्माणपछि आइतबारदेखि औपचारिक रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालित ९.६ मेगावाट क्षमताको सो हाइड्रोपावर गत असोज ३० गते नै केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। प्रारम्भमा गोर्खा हाइड्रोपावर कम्पनीलाई जिम्मेवारी दिइएको परियोजना पछि रोकिएपछि नयाँ कम्पनीले काम निरन्तरता दिएको हो।
गलकोट नगरपालिका–८ काँडेबासस्थित ड्याम र मनेवापाटा क्षेत्रमा निर्माण गरिएको विद्युत्गृहबाट अहिले हिउँदे पानी प्रवाहका कारण ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए। उनका अनुसार बर्खायाममा भने पूर्ण क्षमता ९.६ मेगावाटसम्म उत्पादन गर्न सकिनेछ।



