नारायणी डेभलपमेन्ट बैंकको १:१ हकप्रद सेयर निष्कासन अवधि कात्तिक ९ गतेसम्म बढाइयो
Author
NEPSE TRADING

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले जारी गरेको १:१ अनुपातको हकप्रद सेयर निष्कासन अवधि थप गरेको छ । बैंकले साउन २ गतेदेखि सुरु गरेको हकप्रद सेयर आवेदन असोज २२ गते (आज) बन्द गर्ने घोषणा गरेको थियो, तर नयाँ सूचनाअनुसार अब आवेदन अवधि कात्तिक ९ गते २०८२ सम्मका लागि थप गरिएको छ ।
बैंकले आफ्ना सेयरधनीहरूका लागि १०० प्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) जारी गर्दै आएको छ । यस अन्तर्गत बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य रु. २६ करोड २४ लाख बराबर हुन्छ । हाल बैंकको जारी पुँजी (Paid-up Capital) पनि रु. २६ करोड २४ लाख रहेको छ ।
हकप्रद सेयर निष्कासनपछि बैंकको जारी पुँजी रु. ५२ करोड ४९ लाख पुग्नेछ ।
केन्द्रीय भण्डारण प्रणाली (CDSC) का अनुसार हालसम्म १,०७३ आवेदकले जम्मा ३ लाख २६ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको कुल मूल्य रु. ३ करोड २६ लाख बराबर हुन्छ ।
यस हकप्रद सेयर निष्कासनको इश्यू म्यानेजर (Issue Manager) को रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।
यसअघि हकप्रदको बुक क्लोज मिति भदौ ८ गते २०८२ तोकिएको थियो । त्यस अनुसार, सो मितिअघि सेयर स्वामित्व कायम गरेका लगानीकर्ताहरूले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।



