रिज लाइन इनर्जीलाई आईपीओ बिक्री अनुमति, २६ लाखभन्दा बढी सेयर बजारमा आउने
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई साधारण शेयर (IPO) बिक्री गर्न औपचारिक अनुमति प्रदान गरेको छ।
बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ मा २६ लाख ७ हजार कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न अनुमति दिएको हो। उक्त सार्वजनिक निष्कासनमा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हाल्नेछ।
कम्पनीले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको ‘सुपर चेपे खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन शुरू गरिसकेको छ।
यसबाहेक, रिज लाइन इनर्जीले ११ मेगावाट क्षमताको ‘दुधपोखरी चेपे जलविद्युत आयोजना’ मा पनि लगानी गरेको छ, जसले कम्पनीको उत्पादन क्षमता र परियोजना पोर्टफोलियो थप मजबुत बनाएको छ।
आईपीओ निष्कासनको अनुमतिसँगै ऊर्जा क्षेत्रको एक सक्रिय निजी कम्पनी सर्वसाधारण लगानीकर्तासमक्ष प्रवेश गर्न तयार भएको बोर्डले जनाएको छ।


