·

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्न आवेदन माग्यो

Author

NEPSE TRADING

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्न आवेदन माग्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने तयारी गरेको छ। यसका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई प्रस्तावित ब्याजदर र लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन आह्वान गरिएको छ।

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाका अनुसार संस्थाहरूले मंगलबार साँझ ७ बजेभित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ। राष्ट्र बैंकले कोषको रकम एक वर्षका लागि परिचालन गर्न लागिएको हो।

रकम वितरण संरचनाअनुसार वाणिज्य बैंकहरूमा २ अर्ब ८२ करोड ४० लाख, विकास बैंकहरूमा ५२ करोड ९५ लाख र वित्त कम्पनीहरूमा १७ करोड ६५ लाख रुपैयाँ लगानी गरिनेछ। यसले बैंक तथा वित्तीय क्षेत्रमा तत्कालिक तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आवेदनका लागि तोकिएका सर्तअनुसार बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्छ। साथै उनले न्यूनतम कूल पुँजीकोष कायम गरेको, कूल कर्जा सापटी ८ प्रतिशत ननाघेको तथा खुद निष्क्रिय कर्जा (Net NPL) अनुपात तीन प्रतिशतभन्दा कम भएको प्रमाणित गर्नुपर्नेछ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम परिचालन गर्दा वित्तीय क्षेत्रमा स्थायित्व कायम राख्ने, ब्याजदरमा प्रतिस्पर्धा बढाउने र आर्थिक गतिविधिमा गतिशीलता ल्याउने अपेक्षा गरिएको जनाएको छ।

Related News