सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ मा साधारण सभा बोलायो, १०.३५८३% लाभांश पारित गर्न तयारी
Author
NEPSE TRADING

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न आगामी पुस ७ गते साधारण सभा आह्वान गरेको छ। बैंकले काठमाडौँको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो, जसको प्रारम्भ बिहान १०:३० बजे हुनेछ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, आवश्यक देखिएमा अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी पहल गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक–क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।



