सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै
Author
NEPSE TRADING

सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ल्याइँदै छ। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये १ करोड कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि राखिएको छ। सोमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिकाका वडा नं. ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ का अति प्रभावित बासिन्दाका लागि छुट्याइएको छ भने ६० लाख कित्ता अन्य वडाका स्थानीय बासिन्दाका लागि तोकिएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत अर्थात १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिँदैछ। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छिटोमा मंसिर १० र ढिलोमा मंसिर २१ गते बन्द हुनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग दिँदै औसत जोखिम रहेको जनाएको छ। कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको लागत करीब १६ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ पर्न आउने अनुमान गरिएको छ। यस आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष बाँकी छ र साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष तथा डिस्काउन्टेड फिर्ता अवधि १२.०९ वर्ष रहनेछ। कंपनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक तथा तिङ्गला आयोजनास्थलमा तोकिएका स्थानबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सबै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।


