प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, आयोगको तयारी तीव्र
Author
NEPSE TRADING

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ। आगामी फागुन २१ गते हुने निर्धारित निर्वाचनसम्म अब ८८ दिन मात्र बाँकी छ।
राजनीतिक दलहरूले आन्तरिक रूपमा उम्मेदवार चयनदेखि चुनावी रणनीति तयारीसम्मका गतिविधि सक्रिय पारेका बेला आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम औपचारिक रूपमा सुरू गरेको छ। आयोगले बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म समानुपातिक पद्धतिमा भाग लिन इच्छुक राजनीतिक दलले आवेदन दिने समय निर्धारण गरेको छ। आवेदन दिने दलहरूको सूची मंसिर २४ गते प्रकाशित गरिनेछ।
समयतालिकाअनुसार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म पेस गर्न सकिनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ ३० गते समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत् निर्वाचित हुने व्यवस्था छ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिएको छ। यसको अनुसार माघ ६ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नेछन्। सोही दिन प्रारम्भिक उम्मेदवारको सूची प्रकाशित गरिनेछ। उम्मेदवारीविरुद्ध उजुरी दिने समय माघ ७ गते तोकिएको छ भने माघ ८ गते प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। माघ ९ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
आगामी केही महिनामा निर्वाचन प्रक्रिया थप गतिशील हुँदै जाने अनुमान गरिएको छ।



