एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य सार्वजनिक
Author
NEPSE TRADING

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ASIAN) ले आफ्नो अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड असोज २० गते २०८२ मा सम्पन्न गरेको छ । कम्पनीले यसअघि संस्थापक समूहका ३०,०३८.५७ कित्ता र सर्वसाधारण समूहका ३,२८,४७३.९१ कित्ता हकप्रद सेयरलाई इच्छुक व्यक्ति, कम्पनी तथा संस्थागत लगानीकर्ताका लागि शिलबन्दी बोलपत्र (auction) मार्फत बिक्रीको लागि आह्वान गरेको थियो ।
कम्पनीले हकप्रद सेयरको आवेदन अवधि भदौ २२ गतेदेखि असोज ५ गतेसम्म खुला राखेको थियो । प्राप्त बोलपत्रहरू असोज १० गते खोली आवश्यक मूल्यांकन गरी असोज २० गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
एशियन लाइफ इन्स्योरेन्सका अनुसार बाँडफाँडको अन्तिम मूल्य (Cut–off Price) संस्थापक समूहतर्फ प्रतिकित्ता रु. १०५.५० र सर्वसाधारण समूहतर्फ प्रतिकित्ता रु. ४२२.५० कायम भएको छ । उक्त मूल्यमा आवेदन दिने लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा बाँडफाँड गरिएको हो ।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असोज २२ गतेदेखि (बुधबार) उनीहरूले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा IPS प्रणालीमार्फत फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । रकम फिर्ता नभएमा लगानीकर्ताहरूले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
यस लिलामी सेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक को जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले लिएको हो, जुन मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । बाँडफाँड विवरण कम्पनीको वेबसाइट www.muktinathcapital.com मा हेर्न सकिनेछ ।