·

इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावना

Author

NEPSE TRADING

इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावना

युरोपेली केन्द्रीय बैंक (इसिबी)ले भूराजनीतिक तनाव र व्यापार विवादका कारण बनेको अनिश्चित आर्थिक अवस्थालाई ध्यानमा राख्दै ब्याजदरहरू यथावत राख्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकपछि इसिबीले आफ्नो प्रमुख निक्षेप दर दुई प्रतिशतमै कायम राखेको घोषणा गरेको हो।

गत वर्षदेखि निरन्तर दर कटौती गर्दै आएको इसिबीले यो वर्ष जुलाईदेखि दर स्थिर राख्दै आएको छ। मुद्रास्फीति पनि अहिले इसिबीको दुई प्रतिशत लक्ष्य नजिकै रहेको बताइएको छ। बैंकका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी आयातमा लगाएका शुल्क वृद्धिको असर अपेक्षाकृत कम देखिएको छ।

स्पेनका केन्द्रीय बैंक प्रमुख तथा इसिबी गभर्निङ काउन्सिलका सदस्य जोसे लुइस एस्क्रिभाले भने, “हालको ब्याजदर स्तर उपयुक्त छ।” इसिबीका शीर्ष अधिकारीहरू इटालीको फ्लोरेन्समा भेला भई आगामी महिनामा हुने बैठकका लागि तयारी गरिरहेका छन्। सबैको ध्यान अब बैंककी अध्यक्ष क्रिस्टिन लेगार्डको आगामी प्रेस सम्मेलन र दरको भविष्यबारे हुने संकेतमा केन्द्रित छ।

यसबीच, अमेरिकी फेडरल रिजर्भले भने श्रम बजारमा कमजोरी देखिएपछि ब्याजदर घटाउने नीति पुनः सुरु गरेको छ। फेडले यस हप्ता आफ्नो दोस्रो बैठकमा ब्याजदर ०.२५ प्रतिशतले घटाएको हो।

युरोपेली अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको बताइएको छ। सेप्टेम्बरमा भएको इसिबी बैठकमा यस वर्षको वृद्धि दरको पूर्वानुमान समेत माथि संशोधन गरिएको थियो। तर, फ्रान्सको राजनीतिक संकट, ऋण लिने लागतमा वृद्धि र ज्याला वृद्धिमा सुस्तीका कारण भविष्यमा थप कटौतीबारे बहस सुरु भएको छ।

युनिक्रेडिट र क्यापिटल इकोनोमिक्सका विश्लेषकहरूले पनि आगामी महिनाहरूमा इसिबीले पुनः कटौती गर्न सक्ने सम्भावना व्यक्त गरेका छन्। लिथुआनियाका गभर्निङ सदस्य गेडिमिनास सिमकसले समेत “जोखिम व्यवस्थापनको दृष्टिकोणबाट अबको बैठकमा कटौती गर्नु बुद्धिमानी हुनेछ” भनेका छन्।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री एन्ड्र्यू केनिङ्घमका अनुसार सन् २०२६ भित्र ब्याजदरमा थप कटौतीको सम्भावना उच्च छ। उनले भने, “युरोपेली अर्थतन्त्र कमजोर बन्दै गएको छ, श्रम बजार पनि खुकुलो छ, त्यसैले मुद्रास्फीति पुनः बढ्ने जोखिम अहिले निकै कम छ।”

Related News