नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले जारी गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपातमा) हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरेको छ, जसको जम्मा रकम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुन्छ।
हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। सो अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्ने छन्।
इक्रा नेपालले बैंकलाई दिएको रेटिङ इक्राएनपी इश्यूअर रेटिङ सी प्लस (ICRANP-IR C+) रहेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई बैंकको भुमही शाखा (नवलपरासी), नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। बैंकले संकलित रकमलाई धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्न र शाखा विस्तार तथा पूर्वाधार विकासमा प्रयोग गर्ने जनाएको छ।


