·

सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धि

Author

NEPSE TRADING

सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धि

आज शुक्रबार सुनचाँदी बजारमा ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको २ हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यस दिन तोलाको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन (बिहीबार) तोलाको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धिसँगै तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ, जुन हिजोभन्दा १० रुपैयाँले बढि हो।

मूल्य वृद्धिका कारणहरू

विशेषज्ञहरूले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने सम्भावना, अमेरिकी डलरको मजबुती, र नेपाली रुपैयाँसहित भारतीय रुपैयाँको अवमूल्यनलाई प्रमुख कारण बताउँदै आएका छन्। यसले सुनप्रति लगानीकर्ताको आकर्षण झनै बढाएको छ।

यसबाहेक, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा करिब ९० देशमा भन्सार शुल्क वृद्धि गर्ने नीतिले विश्वव्यापी आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा असर पारेको छ। यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा सुनप्रतिको माग बढ्नुमा देखिएको हो।

सुनचाँदी बजारमा देखिएको यो रेकर्ड वृद्धि लगानीकर्ताका लागि नयाँ मनोबल हो। अन्तर्राष्ट्रिय बजारको अस्थिरताले अझै केही दिन सुनको मूल्य उच्च रहने सम्भावना रहेको बजार विश्लेषकहरूको अनुमान छ।

Related News