सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमा
Author
NEPSE TRADING

काठमाडौं । लगातार बढ्दै आएको सुनको मूल्य आज मंगलबार फेरि नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।
महासंघका अनुसार आज सुनको मूल्य हिजो सोमबारको तुलनामा तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। सोमबारको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ थियो।
यससँगै सुनको मूल्यले केही सातादेखि देखिएको लगातार उकालो क्रमलाई निरन्तरता दिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ९६० रुपैयाँमै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विशेषज्ञहरूका अनुसार अमेरिकी डलर कमजोर हुनु, मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव, तथा लगानीकर्ताहरूको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दै गएको छ, जसको सीधा प्रभाव नेपाली बजारमा देखिएको हो।