भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौता
Author
NEPSE TRADING

भारत सरकारको अनुदान सहयोगमा नेपालमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरूका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबीच हस्ताक्षर गरिएको हो।
भारतीय दूतावासका अनुसार, उक्त परियोजनाहरू करीब १ अर्ब १६ करोड रुपैयाँ लागतमा सञ्चालन हुनेछन्। यी परियोजनाहरू शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा केन्द्रित हुनेछन्।
भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्।
यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन्। दूतावासले जनाएको छ कि भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ, र यी परियोजनाहरूले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ।
भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले जनशक्तिकरण र प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।



