·

बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीबीच दाबी भुक्तानी छिटो बनाउन छलफल, बीमकलाई तत्काल कदम चाल्न निर्देशन

Author

NEPSE TRADING

बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीबीच दाबी भुक्तानी छिटो बनाउन छलफल, बीमकलाई तत्काल कदम चाल्न निर्देशन

काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी र भुक्तानी प्रक्रिया छिटोछरितो बनाउनका लागि नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले आन्दोलनका कारण भएका क्षतिको बीमा दाबी भुक्तानीयोग्य रहेको र बीमा कम्पनीहरूको मुख्य दायित्व बीमितलाई दाबी रकम उपलब्ध गराउने भएको स्पष्ट पार्दै सबै बीमकहरूलाई दाबी भुक्तानी मार्गदर्शनअनुसार छिटो भुक्तानी गर्न निर्देशन दिएका छन् ।

सुवेदीले भने, “बीमकहरूले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्नुपर्छ, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्छ, र दाबी भुक्तानीको जानकारी पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ । पुनर्बीमकले पनि समयमै बीमकहरूलाई एड्भान्स रकम उपलब्ध गराउनुपर्छ ।”

उनीले बीमकहरूले प्राधिकरणलाई पेस गर्ने बीमा दाबी र भुक्तानी सम्बन्धी तथ्याङ्क शुद्ध र विश्वसनीय हुनुपर्नेमा जोड दिँदै गलत तथ्याङ्क पेस गर्ने बीमकहरूमाथि कडा कारबाही गरिने चेतावनी दिए । साथै, बजारमा तरलताको कमी देखिएको भन्दै पुनर्बीमा कम्पनीहरूलाई तत्काल तरलता प्रवाह गर्न निर्देशन पनि दिएका छन् ।

छलफलमा सहभागी निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका क्षतिप्रति दाबी भुक्तानी दिन आफूहरू पूर्ण रूपमा सक्षम रहेको र कुनै समस्या नभएको बताए । उनीहरूले साना दाबीहरूको भुक्तानी पहिले नै सुरु भइसकेको र ठूला दाबीहरूको हकमा पुनर्बीमा कम्पनीहरूको सक्रिय सहयोग र नगद प्रवाह आवश्यक रहेको बताए ।

त्यस्तै, कम्पनीहरूले क्षतिको प्रारम्भिक प्रतिवेदन तयार गर्न फिल्डमा सर्भेयरहरू परिचालन भइसकेको र प्रतिवेदन प्राप्त गर्ने क्रम जारी रहेको जानकारी पनि दिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतका दाबी रकम भुक्तानी गर्न कम्पनी पूर्ण रूपमा सक्षम रहेको उल्लेख गर्दै, आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई रकम शीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुब तिमिल्सिना, शाम्भराज लामिछाने र निर्मल अधिकारी, साथै निर्जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू उपस्थित थिए ।

#NepalInsuranceAuthority #NonLifeInsurance #Reinsurance #ClaimSettlement #InsuranceRegulation #InsuranceNewsNepal #SushilDevSubedi #ReinsuranceNepal #InsuranceSectorNepal #FinancialNewsNepal

Related News