·

सेयर बजारमा तीव्र गिरावटपछि लगानीकर्ताको सेबोन घेराउ — ११ बुँदे माग पूरा नभएसम्म बैठक अवरुद्ध,स्थिति तनावपूर्ण

Author

NEPSE TRADING

सेयर बजारमा तीव्र गिरावटपछि लगानीकर्ताको सेबोन घेराउ — ११ बुँदे माग पूरा नभएसम्म बैठक अवरुद्ध,स्थिति तनावपूर्ण

आइतबारको कारोबारमा सेयर बजारमा आएको तीव्र गिरावटपछि असन्तुष्ट लगानीकर्ताहरू अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालयमा पुगेका छन्। हाल सेबोनमा बोर्ड बैठक जारी छ भने लगानीकर्ताहरूले बैठक स्थलमै धर्ना दिँदै “११ बुँदे माग पूरा नभएसम्म कुनै बोर्ड सदस्यलाई बाहिर निस्किन दिइने छैन” भन्ने चेतावनी दिएका छन्।

आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घट्दै २५०३.३५ बिन्दुमा झरेको छ। लगातारको गिरावटपछि बजारमा पुनः त्रास र आक्रोश फैलिएको छ। लगानीकर्ताहरूले बजारको निरन्तर पतनका बाबजुद नियामक निकायले कुनै ठोस कदम नचालेको आरोप लगाएका छन्।

लगानीकर्ताहरूले सेबोनले बजारमा जारी मनोवैज्ञानिक र प्रविधिक संकटप्रति बेवास्ता गरेको बताएका छन्। उनीहरूले तत्काल बजार स्थायित्वका लागि ठोस कदम चाल्न माग गर्दै नियमित सुधार, पारदर्शिता र तत्काल हस्तक्षेपको माग गरेका छन्।

उनका अनुसार, बोर्डले राहतका कदम चाल्न ढिलो गर्दा बजारमा खुद्रा लगानीकर्ताको विश्वास संकटमा परेको छ।

लगानीकर्ताहरूले प्रस्तुत गरेका मागहरूमा मुख्यतः —

  • बजार स्थायित्वका लागि तत्काल नीतिगत निर्णय,

  • सेयर धितो कर्जा र सीमासम्बन्धी स्पष्ट नीति,

  • ब्रोकर शुल्क र सर्किट प्रणालीमा सुधार,

  • सेबोनको नेतृत्व र बोर्ड सदस्यको जवाफदेहीता,

  • लगानीकर्ताको सुरक्षाका उपाय समावेश छन्।

सेबोन परिसरमा लगानीकर्ताको भिड बढेसँगै स्थिति केही तनावपूर्ण बनेको छ। सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ भने सेबोनका अधिकारीहरूले लगानीकर्तासँग संवाद जारी राख्ने प्रयास भइरहेको स्रोतहरूले जनाएका छन्।

Related News