जोशी हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा
Author
NEPSE TRADING

काठमाडौं, असोज २८ — जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले हकप्रद निष्कासनमा बिक्री नभएका कुल १ लाख ८९ हजार ९२७ कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकी गोप्य शिलबन्दी बोलपत्र (sealed bid) प्रणालीबाट आवेदन माग गरेको हो।
कम्पनीले यसअघि साउन १५ गतेदेखि भदौ १९ गतेसम्म हकप्रद शेयर बिक्रीका लागि खुला गरेको थियो। तर, सो अवधिभित्र बिक्री नभएका शेयरहरूलाई अब लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
लिलामीका लागि आवेदन दिन इच्छुकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण बाँकी कित्ताका लागि माग गर्न सकिने कम्पनीले जनाएको छ।
बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र बुझाइसक्नुपर्नेछ। बोलपत्र फारम बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट उपलब्ध हुनेछ। साथै, लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक, र धनगढी–लक्ष्मी नारायणचोक शाखाहरूमा पनि बोलपत्र फारम प्राप्त गर्न सकिनेछ।
यस लिलामीमा कम्पनीका संस्थापक, सर्वसाधारण लगानीकर्ता, संघ–संस्था लगायत इच्छुक जो कोहीले पनि भाग लिन सक्ने व्यवस्था गरिएको छ।