·

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

Author

NEPSE trading

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन ७.३ प्रतिशतको वृद्धि हो। नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख महिनाको अन्त्यसम्म कर्जा प्रवाहमा यो वृद्धि देखिएको हो।

गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए। चालू आवमा कर्जा प्रवाह थोरैले बढेको देखिएको हो। राष्ट्र बैंकले चालू आवमा कर्जा प्रवाहमा १२.५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन वैशाखसम्म ७.३ प्रतिशत देखिएको छ।

वार्षिक बिन्दुगत आधारमा भने, २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भएको छ। यसमा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जा ३६.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेका थिए।

समीक्षा अवधिमा, निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ४.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.५ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये, चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १४.६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ। २०८१ वैशाख महिनामा यसका अनुपातहरू क्रमशः १२.१ प्रतिशत र ६८.५ प्रतिशत थिए।

आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेका कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, थोक र खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार र सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले वृद्धि भएको छ।

यो बाहेक, आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ३.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले वृद्धि भएको छ, भने अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको छ।

Related News