भाटभटेनी नक्सालमा लुटपाट र आगजनी
Author
NEPSE TRADING

जेन–जी आन्दोलनका क्रममा राजधानीको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा प्रदर्शनकारीहरूले लुटपाट गरेर आगजनी गरेका छन्।
भाटभटेनी चेनको पहिलो स्टोर मानिने यस शाखामा प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि आगो लगाइदिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताएका छन्। उनले भने, “प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्। क्षतिबारे यकिन भएको छैन, तर पूरै स्टोरमा आगो लगाइएको छ।”
नक्सालस्थित यो स्टोर व्यवसायी मीनबहादुर गुरुङले २०४३ सालमा स्थापना गरेका थिए। यसअघि राजावादी आन्दोलनका क्रममा कोटेश्वर भाटभटेनीमा पनि यस्तै किसिमको लुटपाट भएको थियो।
आगजनी नियन्त्रणका लागि प्रहरी र दमकल परिचालन गरिएको छ भने ठूलो क्षतिको अनुमान गरिएको छ। घटनाले देशकै खुद्रा व्यापार क्षेत्रमा ठूलो आघात पुगेको बताइएको छ।