गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगित
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको पहिलो बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कार्यव्यस्ततालाई कारण देखाउँदै आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।
यसअघि पनि समितिको बैठक नबसेको भन्दै सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए। उनको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारद्वारा सदस्यमा नियुक्त गरिएको थियो। नियुक्तिपछि पहिलो बैठकको तयारी भइरहेको भए पनि अन्तिम समयमा आएर फेरि स्थगन गरिएको छ।
गएको चैत २५ गतेभित्र नयाँ गभर्नर नियुक्त हुनुपर्ने भए पनि सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नजुट्दा गभर्नर नियुक्ति अन्यौलमा परेको छ। यो प्रक्रिया लम्बिँदै जाँदा राष्ट्र बैंकको नेतृत्वमा देखिएको शून्यता थप चर्किंदै गएको छ।
अब बैठक कहिले बस्ने भन्नेबारे स्पष्ट जानकारी आउन बाँकी छ।