जगदुल्लामा थप उर्जा, क्यासकेड परियोजनाबाट १२४.३५ मेगावाट उत्पादनको तयारी
Author
Nepse trading

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण अघि बढिरहेको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनासँगै अब १२४.३५ मेगावाट क्षमताको अर्को क्यासकेड जलविद्युत् आयोजना निर्माण हुने भएको छ । डोल्पा र जाजरकोटको सिमाना क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिका र नलगाड नगरपालिकामा फैलिएको यो आयोजना सुरुमा ८२.३ मेगावाट क्षमतामा प्रस्ताव गरिएको भए पनि विस्तृत अध्ययनपछि क्षमता बढाएर निर्माणको तयारी गरिएको हो ।
आयोजनाको प्रवर्द्धन जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड ले गर्नेछ । कम्पनीले क्षमतासम्बन्धी संशोधनका लागि विद्युत् विकास विभागमा आवेदन पेश गरिसकेको र हाल प्रमाणीकरण प्रक्रियामा रहेको जनाएको छ । पिकिङ रन अफ द रिभर प्रकृतिमा विकास हुने यो आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुगेको छ । एनईए इन्जिनियरिङ कम्पनीसँग सन् २०२० डिसेम्बरमा सम्झौता भएको थियो भने सन् २०२४ सेप्टेम्बरमा सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकिएको छ ।
कम्पनीका अनुसार विस्तृत अध्ययनसँगै वित्तीय व्यवस्थापन पनि सँगसँगै अघि बढाइएको छ । प्रारम्भिक रुपमा करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहनेछ । ४७५.३ मिटर ग्रस हेड रहने आयोजनाबाट वार्षिक ७३८.२ गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । १३२ केभी प्रसारण लाइनमार्फत नलगाड हब सवस्टेशनमा विद्युत् जोडिनेछ । करिब ७ किलोमिटर सुरुङमार्ग प्रयोग गरी त्रिवेणी क्षेत्रमा विद्युत् उत्पादन गरिने यो आयोजना आगामी आर्थिक वर्ष २०८३/०८४ देखि निर्माण चरणमा लैजाने र चार वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।


