नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब रुपैयाँ आम्दानी
Author
NEPSE TRADING

काठमाडौं — नेपालले पछिल्ला महिनाहरूमा दैनिक औसत एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब रु. १५ अर्ब बराबरको विद्युत् निर्यात भएको छ।
विद्युत् निर्यात भारतीय ऊर्जा एक्सचेञ्ज (IEX) मार्फत डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा हुँदै आएको छ। साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् बिक्री भइरहेको छ।
यससँगै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (INR) मा र बंगलादेशसम्मको निर्यात अमेरिकी डलर (USD) मा हुने भएकाले विद्युत् बिक्रीबाट दुबै मुद्रामा आम्दानी भइरहेको छ।
प्राधिकरणका अनुसार, हालसम्म भारत र बंगलादेश गरी कुल ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ।