·

नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए।

उनका अनुसार नीति सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहायक हुने गरी बनाइएको हो। साथै, मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा कायम राख्ने योजना रहेको छ।

मौद्रिक नीतिमा यस वर्ष:

  • विस्तृत मुद्रा प्रदाय (Broad Money Supply) १३ प्रतिशतले वृद्धि हुने,

  • निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।

अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) यथावत राखिएको छ भने ब्याजदर करिडोरमा केही परिमार्जन गरिएको छ।

मुख्य बुँदाहरू:

  • बैंक दर ६.५% बाट घटाएर ६%

  • नीतिगत दर (Policy Rate) ५% बाट घटाएर ४.५%

  • निक्षेप संकलन दर ३% बाट घटाएर २.७५%

  • आवश्यक परेमा ऋणपत्र (Bond) जारी गरेर तरलता व्यवस्थापन गरिने

  • ब्याजदर ऋणात्मक नहोस् भन्ने सुनिश्चित गरिने

राष्ट्र बैंकले घरेलु मागलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौद्रिक नीतिलाई लचिलो बनाइएको स्पष्ट पारेको छ। साथै, विदेशी विनिमय नीति र मौद्रिक नीतिलाई सन्तुलित रूपमा अघि बढाउँदै दीगो आर्थिक वृद्धिमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

यस नीतिलाई कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र आर्थिक गति बढाउने रणनीतिक पाटोको रूपमा विश्लेषण गरिएको छ।

Related News