नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक
Author
NEPSE TRADING

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए।
उनका अनुसार नीति सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहायक हुने गरी बनाइएको हो। साथै, मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा कायम राख्ने योजना रहेको छ।
मौद्रिक नीतिमा यस वर्ष:
विस्तृत मुद्रा प्रदाय (Broad Money Supply) १३ प्रतिशतले वृद्धि हुने,
निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) यथावत राखिएको छ भने ब्याजदर करिडोरमा केही परिमार्जन गरिएको छ।
मुख्य बुँदाहरू:
बैंक दर ६.५% बाट घटाएर ६%
नीतिगत दर (Policy Rate) ५% बाट घटाएर ४.५%
निक्षेप संकलन दर ३% बाट घटाएर २.७५%
आवश्यक परेमा ऋणपत्र (Bond) जारी गरेर तरलता व्यवस्थापन गरिने
ब्याजदर ऋणात्मक नहोस् भन्ने सुनिश्चित गरिने
राष्ट्र बैंकले घरेलु मागलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौद्रिक नीतिलाई लचिलो बनाइएको स्पष्ट पारेको छ। साथै, विदेशी विनिमय नीति र मौद्रिक नीतिलाई सन्तुलित रूपमा अघि बढाउँदै दीगो आर्थिक वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।
यस नीतिलाई कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र आर्थिक गति बढाउने रणनीतिक पाटोको रूपमा विश्लेषण गरिएको छ।