·

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने

Author

NEPSE TRADING

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै आएको छ, तर कर्जा प्रवाह भने अपेक्षित स्तरमा पुग्न सकेको छैन। ब्याजदर निरन्तर घट्दा पनि कर्जा प्रवाह सुस्त बनेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग गर्दै थप तरलता खिच्ने तयारी गरेको हो।

राष्ट्र बैंकका अनुसार २१ दिने निक्षेप संकलन उपकरणमार्फत उठाइने यो रकम असोज १२ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ। निक्षेप संकलनमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने व्यवस्था गरिएको छ।

बोलकबोल प्रक्रियामा ब्याजदर प्रतिस्पर्धात्मक तरिकाले निर्धारण हुनेछ। यसबाट प्राप्त निक्षेपलाई राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने सुविधा पनि दिइनेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र निक्षेप संकलन उपकरणमा सहभागी हुन दिने जनाएको छ। गत आर्थिक वर्षको मध्यतिरदेखि बढेको अधिक तरलता अहिले बैंकिङ क्षेत्रमा नै प्रमुख चुनौती बनेको छ। बजारमा माग घट्नु र व्यवसायमा शिथिलता आउनुले कर्जा प्रवाह अपेक्षितरूपमा नहुँदा, केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा सक्रिय हुनुपर्ने अवस्था आएको हो।

Related News