नेप्से फेरि ओरालो, सुधारको घोषणाले पनि बजारमा चमक ल्याउन सकेन
Author
NEPSE trading

शेयर बजार लगातार दोस्रो दिन पनि ओरालो लागेको छ । मंगलबार १९ अंकले घटेको नेप्से परिसूचक बुधबार थप २२.५८ अंकले घट्दै २५०५.५८ विन्दुमा झरेको छ। कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो, जुन अघिल्लो दिनको ३ अर्ब ३६ करोड रुपैयाँभन्दा कम हो। बजारमा देखिएको यो क्रमले लगानीकर्ताको आत्मविश्वास अझै कमजोर बनेको संकेत गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताहरूको माग सम्बोधन गर्ने र पूँजी बजार सुधारका प्रतिबद्धता सार्वजनिक गरे पनि त्यसले बजारमा तत्काल सकारात्मक असर पार्न सकेको छैन। लगानीकर्ताले सुधारका घोषणा सुने पनि बजारमा व्यवहारिक परिवर्तन नदेखिएकाले उनीहरूको मनोबल उठ्न सकेको छैन।
सेबोनले पुँजी बजार सुधार सुझाव कार्यदलले सिफारिस गरेको नौ बुँदे कार्यतालिका सार्वजनिक गरेको छ। तीमध्ये चार बुँदा तत्काल कार्यान्वयन गरिने र बाँकी मंसिर १५ गतेसम्म सम्पन्न गरिने लक्ष्य बोर्डले तय गरेको छ। बोर्डले यो योजना “तत्काल सुधारका पहल” भनेर प्रस्तुत गरे पनि लगानीकर्ताहरूले यसलाई व्यवहारमा लागू नभएसम्म विश्वास गर्न नसक्ने बताइरहेका छन्।
बोर्डको कार्यतालिका अनुसार तीन महिनाभित्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली सञ्चालन गर्ने, सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट जारी हुने आइएसआइएन कोडमा एकरूपता ल्याउने, बोनस शेयरमा लाग्ने लाभांश कर कम्पनीले नै मिलान गरी भुक्तानी गर्ने र लगानीकर्ताले समयमा रकम नबुझाए वा दलालले ढिलाइ गरेमा त्यसको भुक्तानी प्रणालीमा एकरूपता ल्याउने काम गरिनेछ।
यस्तै, लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न पाउने व्यवस्था, धितोपत्र सम्बन्धी कसूर छानबिनका लागि संयन्त्र स्थापना, र लगानीकर्ता साक्षरताका लागि प्रशिक्षण तथा कार्यशाला सञ्चालनजस्ता विषय पनि बोर्डको प्राथमिक कार्यसूचीमा छन्। बुधबारको कारोबारमा १३ मध्ये १२ उपसमूह घटेका छन्। म्युचुअल फन्ड उपसमूह भने सामान्य वृद्धि देखिएको हो। सबैभन्दा बढी घट्ने उपसमूह व्यापार हो, जसको परिसूचक २.०९ प्रतिशतले घट्यो। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूह पनि एक प्रतिशतभन्दा बढीले घटेका छन्।
यस दिन दुई कम्पनी — समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी — का शेयर नकारात्मक सर्किटमा पुगे। यता, समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९३ प्रतिशतले बढ्दै बजारमा सबैभन्दा धेरै वृद्धि गर्ने कम्पनी बन्यो।
कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।
पुँजी बजार सुधार कार्यदलले अर्थमन्त्रालयमा बुझाएको प्रतिवेदनका सिफारिस कार्यान्वयनको चरणमा पुगेको बोर्डले दाबी गरेको छ। तर, लगानीकर्ताहरूले सुधारका प्रतिबद्धता व्यवहारमा लागू नभएसम्म बजारमा स्थायित्व आउन नसक्ने बताएका छन्।
धितोपत्र बजारमा पारदर्शिता र विश्वसनीयता कायम गर्न आवश्यक ठानिएका ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’ र ‘अक्सन मार्केट’ सञ्चालनका योजना अझै कागजमै सीमित छन्। बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउने, प्रारम्भिक सार्वजनिक निष्काशन (क्ष्एइ) र हकप्रद शेयर निष्काशनमा मापदण्ड तयार गर्ने कार्य पनि अझै अधुरो छ।
यस्ता सुधारका योजनाले लगानीकर्ताको मनोबलमा स्थायी असर पार्न नसक्दा बजार निरन्तर दबाबमा रहेको विश्लेषकहरूको भनाइ छ।
नेपालको पूँजी बजार अहिले घोषणाको भन्दा पनि कार्यान्वयनको चरणमा पुग्नुपर्ने बेला हो। सेबोनले सुधारका प्रतिबद्धता सार्वजनिक गरे पनि लगानीकर्ताको विश्वास फिर्ता ल्याउन ठोस कार्यान्वयन आवश्यक छ। नीतिगत स्पष्टता, नियामक संस्थाको सशक्त भूमिका र पारदर्शी प्रणाली स्थापना भएपछि मात्र बजारमा स्थायित्व आउने लगानीकर्ताको विश्वास छ। हालको गिरावटले बजारको वास्तविक चुनौती नीति होइन, विश्वास निर्माण हो भन्ने स्पष्ट सन्देश दिएको छ ।
अब लागौ प्राविधिक विश्लेषण तर्फ
बजार विश्लेषकहरूका अनुसार, सुधारका घोषणा मात्रले बजारमा विश्वसनीयता फर्किँदैन। धितोपत्र विश्लेषक सन्दीप चौधरीका अनुसार, “लगानीकर्ताले नीति होइन, व्यवहार हेर्छन्। सुधारका कार्यहरू कागजमा होइन, मैदानमा देखिनु पर्छ।” उनका अनुसार हाल बजार प्राविधिक रूपमा कमजोर अवस्थामा छ । २४८० देखि २४९० विन्दुमा बजारले बलियो समर्थन पाउने भए पनि त्यो स्तर भत्किए बजार अझै तल जान सक्ने जोखिम रहेको छ । त्यस्तै हाल ३४ दशमल ७४ मा आरएसआई रहेको छ ।

अब लागौ ब्रोकरको विश्लेषण तर्फ
आजको बजारमा ब्रोकरको अबस्था हेर्दा ठूला १० ब्रोकर मध्य ५ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी बाई गरेका छन् भने ५ वटा ब्रोकरले नै तुलनात्मक रुपमा बढी सेल गरेको देखिन्छ । आजको बजारमा ५८,४५,४२,४८ र ६२ नं.का ब्रोकर बाट उच्च सेल भएको छ । त्यस्तै, ३४, ५५, ४९, २८ र ४४ नं.का ब्रोकरले भने बाई बढी गराएका छन् । स्टक अनुसार हेर्दा ग्लोबल आइएमई बैंक ४ नं. बाट लगानीकर्ताले आज भएको कुल बाईको ६५ प्रतिशत अर्थात १ लाख १७ हजार कित्ता बाई गरेका छन् । त्यस्तै एस एस एच एल ३२ नं.बाट लगानीकर्ताले कुल बाईको ४० प्रतिशत अर्थात ४० हजार कित्ता किनेको देखिन्छ । यता सेल तर्फ ५८ बाट लगानीकर्ताले ग्लोबल आइएमई बैं ९२ हजार कित्ता बेचेको देखिन्छ । यसैविच नेप्से ट्रेडिङको mएआई लाइटले पहेलो बत्ती बालीरहेको देखिन्छ । जसको अर्थ पर्ख र हेर हो ।