·

एनआइसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

Author

NEPSE TRADING

एनआइसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

काठमाडौँ — एनआइसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ का लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

हालै एनसीएचएलले एनपिएस–एनसिएसको पूर्वाधार तयारी सम्पन्न भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालकै डोमेस्टिक कार्ड स्किम – नेपालपे कार्ड जारी (Issuing) तथा कारोबार स्वीकृति (Acquiring) को लागि स्विच इन्टिग्रेशन गर्न आग्रह गरेपछि विभिन्न बैंक तथा वित्तीय संस्था सो स्किममा आवद्ध हुन थालेका छन्।

नेपालपे कार्डको व्यावसायिक सञ्चालन (Commercial Rollout) पश्चात एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा कारोबार स्वीकृति सेवाहरू प्रदान गर्न सक्नेछ।

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तर–आबद्धता कायम गर्दै देशभित्र हुने कार्ड कारोबारको राउटिङ्ग तथा सेटलमेन्टका लागि एकीकृत ‘सेंट्रल कार्ड स्विच’ का रूपमा विकसित गर्ने तयारी भइरहेको छ।

उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि डोमेस्टिक कार्ड कारोबारको लागत घट्ने, डाटा लोकलाइजेशन सुनिश्चित हुने तथा डिजिटल इकोसिस्टममा अत्याधुनिक उपकरण तथा प्रविधि विकासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ–पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।

नेपालपे कार्ड कार्यान्वयनबाट नेपालको कार्ड इकोसिस्टमले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ। देशकै अग्रणी बैंकमध्ये पर्ने एनआइसी एशिया बैंकले देशभर ३६० शाखा, ११५ विस्तारित काउन्टर, ४१ शाखारहित बैंकिङ सेवा केन्द्र र ६४९ एटीएममार्फत अत्याधुनिक तथा डिजिटल बैंकिङ सेवाहरू दिँदै आएको छ।

Related News