बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न
Author
NEPSE trading

बाग्लुङ, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ को आयोजनामा र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा बाग्लुङमा एक दिने शेयर तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जनाभन्दा बढी सहभागी रहेका थिए।
उक्त तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेप्से ट्रेडिङ डटकमका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्दीप कुमार चौधरीले प्रशिक्षण दिएका थिए। तालिमपछि इन्भेष्टर मिट कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा सयौं लगानीकर्ताको उपस्थिति रहेको थियो।
इन्भेष्टर मिटको सहजकर्ता नेप्से ट्रेडिङ डटकमका सञ्चालक तथा सम्पादक दिपेश घिमिरे थिए। कार्यक्रममा आयोजित प्यानल छलफलमा नेप्से ट्रेडिङ डटकमका CEO सन्दीप कुमार चौधरी, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का अध्यक्ष राम प्रसाद आचार्य, र स्थानीय लगानीकर्ता यम प्रसाद शर्मा सहभागी थिए। लगानीकर्ताहरूबाट उठाइएका विविध प्रश्नको जवाफ प्यानल सदस्यहरूले दिएका थिए।
कार्यक्रममा दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का CEO निर्दोष लम्सालले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि आयोजना गरिने प्रतिबद्धता जनाए। अध्यक्ष राम प्रसाद आचार्यले ब्रोकर प्रणालीमा रहेको उधारो कारोबारको समस्या र ब्रोकर मर्जर सम्बन्धी विषयमा धारणा राखे।
त्यस्तै, बाग्लुङ शाखाका ब्रान्च म्यानेजर विवश गैरेले बाग्लुङमा लगानीकर्ताको चासो तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै नेप्से ट्रेडिङ डटकमसँग निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरे।
नेप्से ट्रेडिङ डटकमका सञ्चालक जगन्नाथ थपलियाले देशका अन्य स्थानहरूमा समेत यस्ता कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिएका छन्।
यो कार्यक्रमले बाग्लुङमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै लगानीकर्ताबीच व्यावहारिक जानकारी विस्तारमा ठूलो भूमिका खेलेको देखिएको छ।