पूँजीबजारको समस्या समाधान गर्न प्रतिबद्ध : प्रधानमन्त्री
Author
NEPSE trading

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारमा कायम समस्या समाधान गर्न तयार रहेको बताएका छन्। साथै, उनले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै उनले सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पूँजीबजारमा देखिएका समस्याहरू समाधान गर्दै आएको बताएका छन्। उनले वार्षिकोत्सवका अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन्।
देशमा आर्थिक-सामाजिक रूपान्तरणसहित राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरूत्थान, उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनामा सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए।
लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको बताए। उनले सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पूँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए।
उनले बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे।