साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्यो
Author
NEPSE TRADING

साञ्जेन जलविद्युत कम्पनी लिमिटेड (SJCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि गर्दै नोक्सानी अवस्थाबाट नाफामा फर्किन सफल भएको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६ करोड ३४ लाख रुपैयाँ आम्दानीको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो। आम्दानी बढेसँगै कम्पनीले गत वर्षको सोही अवधिमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेकोमा यस वर्ष सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।
कम्पनीका अनुसार यस नतिजा सुधारको मुख्य कारण ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजना दुवैबाट नियमित उत्पादन र विद्युत प्रवाह सुरु हुनु हो। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाइन सञ्चालनमा आएपछि दुबै आयोजनाबाट उत्पादित विद्युत सोही लाइनमार्फत प्रवाह हुन थालेको हो, जसले विद्युत बिक्री आम्दानीमा ठूलो फड्को मार्न सहयोग पुर्याएको कम्पनीले बताएको छ।
पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १६.१२ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको उल्लेख छ।


