ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति निलम्बन
Author
NEPSE TRADING

अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ। गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै विश्वविद्यालयले कानुनअनुसार काम गर्न नसकेको भन्दै यस्तो निर्णय गरिएको बताइन्। उनले यो निर्णय अन्य अमेरिकी विश्वविद्यालयहरूप्रति पनि चेतावनी भएको स्पष्ट पारिन्।
हार्वर्ड विश्वविद्यालय विगत लामो समयदेखि नेपालसहित १४० भन्दा बढी देशका विदेशी विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ। तर अब यो अनुमति खारेज गरिएको हुँदा भर्ना भइसकेका विद्यार्थीहरू अन्य विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ।
ट्रम्प प्रशासनले हार्वर्डलाई यहूदी विरोधी भावना फैलाएको, चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राखेको जस्ता आरोप लगाउँदै आएको छ। विश्वविद्यालयले ती आरोपहरू अस्वीकार गर्दै विदेशी विद्यार्थी पढ्न नपाउने निर्णय अमेरिकालाई नै हानी पुर्याउने चेतावनी दिएको छ।
बीबीसीका अनुसार अघिल्लो शैक्षिक सत्रमा हार्वर्डमा ६ हजार ७ सय विदेशी विद्यार्थी भर्ना भएका थिए, जुन कूल विद्यार्थी संख्याको २७ प्रतिशत हो। ट्रम्प प्रशासनले हार्वर्डलाई शासकीय अभ्यास र भर्ना प्रक्रियामा सुधारको सूची पठाए पनि विश्वविद्यालयले अस्वीकार गरेपछि दुई अर्ब अमेरिकी डलर बराबरको कोष पनि रोक्का गरिएको छ।