आशा लघुवित्तको नवौँ वार्षिक साधारण सभा पुस ४ गते धुलिखेलमा बस्ने
Author
NEPSE TRADING

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा आगामी पुस ४ गते (डिसेम्बर १९, २०२५) धुलिखेलमा आयोजना गर्ने भएको छ। मंसिर ११ गते बसेको सञ्चालक समितिको १७९औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेसँगै औपचारिक सूचना सार्वजनिक गरिएको हो।
सभा धुलिखेल–६ स्थित होटल अरनिको प्रा.लि. मा दिउँसो २ बजेदेखि शुरू हुनेछ। संस्थाले सबै शेयरधनीलाई निर्धारित समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।
सामान्य प्रस्तावहरू
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र आषाढ मसान्तसम्मको वित्तीय विवरणबारे छलफल गरी पारित गरिनेछ। सोही वर्षको मुनाफाबाट चुक्ता पूँजी रुपैयाँ ७३.३० करोडको ०.५ प्रतिशत बराबर कर प्रयोजनका लागि नगद लाभांश (रु. ३६ लाख ६५ हजार) वितरण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश छ।
विशेष प्रस्तावहरू
यस वर्षको महत्वपूर्ण विशेष प्रस्तावमा ९.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव छ। बोनस वितरणसँगै संस्था गाभ्ने/गाभिने तथा प्राप्ति (Acquisition) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
साथै संस्थाको चल–अचल सम्पत्ति तथा दायित्वबारे ‘Due Diligence Audit’ गर्न स्वीकृत मूल्याङ्कनकर्ता नियुक्ति गर्ने, आवश्यकता अनुसार MOU (समझदारीपत्र) तयार पार्न र प्रक्रियागत काम अघि बढाउन समितिलाई अधिकार दिने प्रस्ताव पनि टेवलमा हुनेछ।
प्रवन्ध–पत्र तथा नियमावलीमा नियमनकारी निकायले निर्देशन दिएअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत विशेष प्रस्तावमा समावेश गरिएको छ।
बुक–क्लोज र सहभागी हुने प्रक्रिया
साधारण सभा प्रयोजनका लागि मंसिर २२ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ। मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा नाम दर्ता भएकाहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
सभा स्थलमा उपस्थित सबै शेयरधनीले आफ्नो डिम्याट खाता नम्बर तथा नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
साधारण सभामा उपस्थित हुन नसक्ने शेयरधनीले सभाको ४८ घण्टा अगाडि प्रोक्सी फारम पेश गरी प्रतिनिधि नियुक्त गर्न सक्नेछन्।
संस्थाको जानकारी
आशा लघुवित्त, नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गमा इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था, वनेपा–१३, साँगा काभ्रेमा अवस्थित छ। संस्थाबारे थप जानकारी www.ashamicrofinance.com.np मार्फत पाउन सकिने छ।



