एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित
Author
NEPSE TRADING

कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ धकेलेपछि मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ।
एसियाली बजारको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ अमेरिकी डलरसम्म पुगेको छ, जुन यसअघि अप्रिलमा बनेको ३,५००.० डलरको रेकर्डभन्दा माथि हो। स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाका अनुसार यो वृद्धि नरम डलर मात्र नभई, विदेशी केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बढ्दो मागले पनि देखाएको हो। अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा लगानी सुनतर्फ मोडिएको उनको भनाइ छ।
वाल स्ट्रिट श्रम दिवसका कारण सोमबार बन्द रहँदा लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा बसेका थिए। त्यसकै प्रभाव स्वरूप सेयर बजार मिश्रित अवस्थामा देखिएको छ। टोकियो, सियोल र जकार्ता उकालो लाग्दा हङकङ र साङ्घाई प्रारम्भिक लाभपछि तल झरे।
ह्याङसेङमा अलिबाबाको सेयर सोमबार कृत्रिम बुद्धिमत्ता (एआई) राजस्व वृद्धिपछि करिब २० प्रतिशतसम्म उछालिएको थियो। तर लगानीकर्ताले मुनाफा सुरक्षित गर्न खोज्दा मङ्गलबार केही गिरावट आएको हो। स्याक्सो मार्केटका चारु चानानाले अमेरिकी प्रविधि कम्पनीहरूले एआई मुद्रीकरण र उच्च मूल्याङ्कनबारे प्रश्नको सामना गरिरहे पनि चिनियाँ कम्पनीहरूले भने एआई र क्लाउड सेवाबाट वास्तविक आय वृद्धि देखाइरहेको टिप्पणी गरे।
यसैबीच, अवैध लागुऔषध अनुसन्धानसँग जोडिएपछि जापानी पेय पदार्थ कम्पनी सनटोरीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजीनामा दिएका छन्, जसले जापानी कर्पोरेट जगत्लाई स्तब्ध पारेको छ।
तेल बजारमा भने आगामी सप्ताहान्तमा हुने ओपेकं बैठकअघि मूल्य बढेको छ। उत्पादन आपूर्ति स्थिर रहने अपेक्षाले तेल मूल्यमा वृद्धि भएको विश्लेषकहरूको भनाइ छ।