भूमि सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रियसभामा स्वीकृत
Author
NEPSE TRADING

प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाले बहुमतले स्वीकृत गरेको छ।
मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्दै जग्गा व्यवस्थापन पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार प्रत्येक वडा र पालिकामा सबै दलको सहभागिता रहने सर्वदलीय समिति मार्फत काम हुने भएकाले कुनै प्रकारको बदमासी हुने छैन। जग्गा कमाएर पनि नाममा जग्गा नभएका अव्यवस्थित बसोबासीलाई बसोबासको व्यवस्था गरिने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिने उनको भनाइ थियो।
बैठकमा सदस्यहरूले कृषि वा उद्यमका लागि राखिएका जग्गामा प्लटिङ गर्ने प्रवृत्ति, भूमिहीन र सुकुम्बासीको अधिकार, अव्यवस्थित बसोबासीको सुरक्षाको सवाल, साथै भू–माफिया र दलाललाई लाभ पुग्ने आशंका प्रष्ट पार्नुपर्नेमा जोड दिए। केही सदस्यहरूले सरकारी, सार्वजनिक र गुठी जग्गा अपचलन हुने सम्भावना देखिएकाले विधेयक पुनर्लेखन गर्नुपर्ने मागसमेत गरे।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्दै निजामती कर्मचारीले अवकाश लिएपछि दुई वर्षसम्म अन्यत्र नियुक्ति नपाउने व्यवस्था गरिएको जानकारी दिइन्।