नाडा अटो शो २०२५ को उद्घाटनमा अध्यक्ष ढकालको टिप्पणी: अर्थतन्त्रमा सुधारको संकेत
Author
NEPSE TRADING

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै जाँदा अर्थतन्त्रमा पनि त्यसको असर देखिन थालेको बताएका छन्। मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १७औं संस्करणको नाडा अटो शो-२०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यसो भने।
अध्यक्ष ढकालले अटो शोले अर्थतन्त्रमा पुर्याएको योगदानलाई महत्त्वपूर्ण ठहराउँदै भने, “पछिल्लो केही वर्षयता अर्थतन्त्र सुस्त बन्दा त्यसको असर समग्र क्षेत्रमा पर्दै गएको थियो। तर यस वर्ष बजारमा माग बढी भएको छ र निजी क्षेत्रको मनोबल पनि सकारात्मक बन्दै गएको छ।”
अध्यक्ष ढकालले थप भने, “बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र नीतिगत सहजता अपनाइएको कारण समग्र अर्थतन्त्र चलयमान बन्न थालेको हो। विद्युतीय सवारीसाधनको आयात पनि हाम्रो लागी सकारात्मक संकेत हो र आगामी दिनहरूमा सहज नीतिले बजारलाई अझ राम्रो बनाउने विश्वास लिएका छौं।”
यस बर्षको अटो शोले अझै बढ्दो निजी क्षेत्रको विश्वास र बजारको प्रगति संकेत गरेको छ, जसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।