वाणिज्य बैंकहरूको वार्षिक नाफा ७१ अर्ब १८ करोड पुग्यो, नबिल बैंक अग्रस्थानमा, एनआईसी एशिया ठूलो गिरावटमा
Author
NEPSE TRADING

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४९ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ४३.९७ प्रतिशतले बढी हो। यस अवधिमा नबिल बैंकले सबैभन्दा बढी ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाउँदै अग्रस्थान हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत वृद्धि हो। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक ६ अर्ब ७५ करोड रुपैयाँ र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड रुपैयाँ नाफासहित रहेका छन्। एनआईसी एशिया बैंकले भने सबैभन्दा कम १६ करोड रुपैयाँ नाफा मात्र कमाएको छ। नाफा वृद्धिदरको हिसाबले कुमारी बैंक अग्रस्थानमा छ, जसको नाफा अघिल्लो वर्षको वित्तीय विवरण परिमार्जनपछि ४५ हजार ८२१ प्रतिशतले बढेको देखिन्छ। प्रभु बैंक र नेपाल बैंकले पनि तथ्यांक परिमार्जनपछि उल्लेख्य नाफा वृद्धि देखाएका छन्। यद्यपि, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकका नाफा घटेका छन्, जसमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ७६.९७ प्रतिशतले घटेको हो।