काठमाडौँमा ‘कस्मेटिका २०२५’ हुँदै, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी एकै प्लेटफर्ममा
Author
NEPSE TRADING

नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रसँग आबद्ध व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै छानामुनि जोड्ने उद्देश्यसहित ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा चिनिएको यो कार्यक्रम आगामी पौष ११ देखि १३ गते (डिसेम्बर २६–२८) सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।
हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त ट्रेड शोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। कार्यक्रमको मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।
आयोजकका अनुसार कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस उद्योगसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गरिनेछ।
एक्स्पोमा स्वदेशी तथा विदेशी कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक प्रविधिसँग सम्बन्धित निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यसैगरी आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्। कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनीमा सीमित नरही सौन्दर्य र वेलनेस क्षेत्रको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ।
कार्यक्रम अवधिभर कस्मेटिक्स तथा वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल तथा स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश हुनेछन्।
वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्यूटीजस्ता प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।
पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार उल्लेखनीय रूपमा विस्तार हुँदै आएको छ। जीवनशैली, सामाजिक मूल्य र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै कस्मेटिक्सप्रतिको माग तीव्र बनेको देखिन्छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताले पनि उपभोक्तालाई आफ्नो रूप–रंग र प्रस्तुतीकरणप्रति थप सचेत बनाएको छ।
उद्योगसँग सम्बन्धित विज्ञहरूका अनुसार नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य हाल करिब २३.६ अर्ब रुपैयाँ पुगेको अनुमान छ। सन् २०२५ सम्म यस क्षेत्रका उत्पादनको आयात २०.४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ र अमेरिकाबाट मुख्य रूपमा यी उत्पादन आयात हुने गरेका छन्। वार्षिक २० देखि २५ प्रतिशतको दरले बढिरहेको यो बजारमा कस्मेटिका २०२५ ले व्यवसायी र उपभोक्ताबीच नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।



