सपोर्ट लघुवित्तको साधारण सभा पुस ३० गते, १०% लाभांश प्रस्ताव पारित हुँदै
Author
NEPSE TRADING

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस ३० गते बुधबार बिहान ११ बजे सुनसरीको इटहरी–१ स्थित स्काइ लक्स होटलमा साधारण सभा आयोजना गर्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सभामा सहभागिता जनाउन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।


