डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघ
Author
NEPSE TRADING

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी ले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्डको रूपमा व्याख्या गर्नुभएको छ। बलियो डिजिटल पूर्वाधार बिना देशको डिजिटल रूपान्तरण सम्भव नहुने उहाँको भनाइ छ।
शनिबार ललितपुरमा आयोजित ‘क्यान बीटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै अधिकारीले प्रविधि आज सुविधा मात्र नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्नुभयो। सुरक्षित डेटा भण्डारण र भरपर्दो क्लाउड पूर्वाधारको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयास दीगो नहुने उहाँको धारणा थियो।
डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अत्यावश्यक भइसकेको बताउनुभयो। क्लाउड पूर्वाधारले सर्भर र सुरक्षामा लाग्ने ठूलो पुँजीगत खर्च घटाउने भएकाले उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। इ–कमर्स, फिनटेक र आईटी सेवा निर्यातमा युवाहरूको आकर्षणलाई व्यवहारमा उतार्न पनि भरपर्दो क्लाउड संरचना अनिवार्य रहेको उहाँले जोड दिनुभयो।
विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले सन् २०३० सम्ममा डेटा सेन्टरको बजार ६०२ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो। इस्टोनिया, सिंगापुर र भारतजस्ता देशहरूले डिजिटल पूर्वाधारमा समयमै लगानी गरेकै कारण विश्व प्रतिस्पर्धामा अग्रस्थानमा रहन सफल भएको उल्लेख गर्दै नेपालले पनि ढिलाइ नगरी स्पष्ट रणनीति बनाउनुपर्ने उहाँको भनाइ थियो।
नेपालको डिजिटल क्षेत्रमा देखिएका चुनौती औंल्याउँदै अधिकारीले साइबर सुरक्षा जोखिम र दक्ष जनशक्तिको अभाव स्वीकार गर्नुभयो। ती चुनौती समाधानका लागि उहाँले तीन बुँदे सुधारको खाका अघि सार्नुभयो। नीतिगत सुधारमार्फत डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरणसम्बन्धी स्पष्ट तथा लगानीमैत्री कानुन आवश्यक रहेको उहाँले बताउनुभयो। साथै विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने र डिजिटल रूपान्तरणलाई काठमाडौं बाहिर ग्रामीण क्षेत्रसम्म विस्तार गर्न दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग गर्नुपर्ने उहाँको सुझाव थियो।
नेपालको भौगोलिक र रणनीतिक अवस्थाको फाइदा उठाउँदै देशलाई दक्षिण एसियाकै ‘टेक हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको अधिकारीले औंल्याउनुभयो। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत विदेशी लगानी आकर्षित गर्न अहिले उपयुक्त समय भएको उहाँको धारणा थियो।
समिटको समापनमा वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, प्रदर्शक तथा क्यान महासंघका केन्द्र, प्रदेश र जिल्ला तहका सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। सबैको सहकार्यबाट मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने उहाँको विश्वास थियो।


