विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?
Author
NEPSE trading

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो छलफलपछि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। मंगलबार बिहान दुई पक्षबीच औपचारिक सहमति भएपछिको यो नियुक्ति हो।
डा. विश्वनाथ पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनी सिफारिस समितिका सदस्य रहँदा कांग्रेसले उनलाई गभर्नर पदका लागि अघि सार्दा उनले समितिबाट राजीनामा दिएका थिए।
डा. पौडेललाई सभापति देउवाको विश्वास पात्र मानिन्छ। देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। देउवाकी पत्नी आरजू राणासँग पनि उनको व्यक्तिगत नजिकको सम्बन्ध रहेको बताइन्छ।
ललितपुरमा सञ्चालित आरजू राणाको निजी विद्यालय ‘युलेन्स स्कूल’मा डा. पौडेलले सन् २०१९ अगस्टदेखि २०२१ जुलाईसम्म बोर्ड अफ ट्रस्टीको रूपमा सेवा गरेका थिए। आर्थिक विषयमा गहिरो अध्ययन गर्ने डा. पौडेलले नेपालकै आर्थिक इतिहासका जानकारका रूपमा पनि परिचय पाइसकेका छन्।
उनले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। यस्तै, अमेरिकामा स्नातकोत्तर तह र चीनको शाङ्हाईस्थित विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन्। चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासमा पनि उनी विशेषज्ञ हुन्।
डा. पौडेलका आर्थिक तथा ऐतिहासिक विषयका लेख विभिन्न मिडियामा प्रकाशित भइरहेका छन्। उनी सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको निर्देशक थिए। त्यसपछि विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्।
यो नियुक्तिले नेपाल राष्ट्र बैंकको नेतृत्वमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।