·

उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको त्रैमासिक विवरण : चार कम्पनीको नाफा बढ्यो, पाँचको घट्यो

Author

NepseTrading

उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको त्रैमासिक विवरण : चार कम्पनीको नाफा बढ्यो, पाँचको घट्यो

काठमाडौं । दोस्रो बजारमा सूचीकृत रहेका उत्पादन तथा प्रशोधन समूहअन्तर्गतका ९ वटै कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्मको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । तीमध्ये चार कम्पनीको नाफा वृद्धि भएको छ भने पाँच कम्पनीको नाफा घटेको देखिएको छ ।

नाफा बढाउने कम्पनीहरूमा सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि रहेको छ । कम्पनीले नाफा ३९९.३३ प्रतिशतले वृद्धि गरी ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको नाफा पनि २५१.३२ प्रतिशतले वृद्धि भई ७३ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

सूचीकृत भए पनि कम कारोबार हुने नेपाल ल्यूव आयल लिमिटेडको नाफा १०० प्रतिशतले बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टको नाफा ९६.०८ प्रतिशतले वृद्धि भई ४० करोड ५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा बोट्लर्स नेपाल अन्तर्गतका दुवै कम्पनीले कमजोर प्रदर्शन गरेका छन् । बोट्लर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ भने बोट्लर्स नेपाल (तराई) को नाफा ६९.११ प्रतिशतले घटेको हो । सोनापुर मिनरल्स एण्ड आयलको नाफा ७२.६९ प्रतिशतले घटेको छ ।

युनिलिभर नेपाल लिमिटेडको नाफा सामान्य मात्र घटेर ४८ करोड २२ लाख रुपैयाँमा झरेको छ । यता, घोराही सिमेन्टले भने ठूलो घाटा व्यहोरेको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको नाफा शून्यमा झरेको मात्र होइन, ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानी देखिएको छ, जुन यस समूहको सबैभन्दा कमजोर प्रदर्शन मानिएको छ ।

उक्त नतिजाले उत्पादन तथा प्रशोधन समूहमा मिश्रित अवस्था देखिएको छ । कतिपय कम्पनीहरूले बजारको चुनौतीपूर्ण अवस्थाबीच पनि उल्लेखनीय प्रगति गरेका छन् भने अन्यले भने घट्दो नाफा र घाटाको सामना गर्नुपरेको छ ।

Related News