·

नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ?

Author

NEPSE TRADING

नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले धेरैजसो मुलुकसँग व्यापार घाटा खेप्दा पनि केही मुलुकसँग भने नाफा (Trade Surplus) कमाएको छ। भन्सार विभागका तथ्याङ्कअनुसार, १२६ देशहरूमध्ये करिब डेढ दर्जन मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ।

नेपालले सबैभन्दा ठूलो नाफा जर्मनीसँग कमाएको छ। यस अवधिमा जर्मनीसँगको आयात ७ अर्ब १६ करोड रुपैयाँमा सीमित रहँदा निर्यात भने ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसरी जर्मनीसँग मात्रै १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ। जर्मनीतर्फ नेपाली कर्पेट, गार्मेन्ट्स, हस्तकलाका सामान र चिया–कफी जस्ता वस्तु प्रमुख निर्यात बनेका छन्।

यस्तै, रूससँगको व्यापारमा पनि नेपालले नाफा देखाएको छ। दुई महिनामा रूसबाट करिब ९० लाख रुपैयाँको मात्र आयात भए पनि त्यहाँतर्फ निर्यात ३१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यसरी रूससँग २२ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ।

निकट छिमेकी मुलुकहरूबाट घाटा खेपिरहेको अवस्थामा नेपालले अफगानिस्तानसँग भने ४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, स्वीडेनसँग १८ करोड रुपैयाँ, नर्वेसँग ३ करोड ७९ लाख रुपैयाँ र सेस्लेससँग १ करोड ११ लाख रुपैयाँ नाफा भएको विभागले जनाएको छ।

फिजी, लेबनान, क्रोएसिया, एस्टोनिया, जर्जिया, साईप्रस र उरुग्वे जस्ता साना बजारहरूसँग पनि नेपालले सानो मात्रामा भए पनि नाफा कमाएको छ। यी मुलुकहरूतर्फ प्रायः गार्मेन्ट्स, हस्तशिल्प, कर्पेट, मसला र कृषि उत्पादन नै प्रमुख निर्यात बन्दै आएका छन्।

तर, समग्र व्यापार संरचनाले भने फरक तस्वीर देखाउँछ। भारत, चीन, अमेरिका, मलेसिया, साउदी अरब, कतार र थाइल्याण्डसँगको ठूलो घाटाले यी नाफा हुने मुलुकहरूको योगदान क्षणिक देखिएको छ। विशेषगरी भारतसँग मात्रै १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी घाटा हुँदा, नेपालले साना मुलुकसँग कमाएको नाफाले समग्र घाटा घटाउन सकेको छैन।

अर्थशास्त्रीहरूका अनुसार, नेपालले यी नाफा हुने मुलुकहरूसँगको व्यापार विस्तार गर्दै, उत्पादनको गुणस्तर सुधार गरी दीर्घकालीन बजारको खोजी गर्न सके मात्र निर्यातलाई दिगो बनाउन सकिन्छ। नत्र, साना बजारहरूमा प्राप्त भएको नाफा ठूलो घाटा घटाउन पर्याप्त नहुने उनीहरूको चेतावनी छ।

Related News