·

सुन आयातमा ४ महिनामै ५८०% को अप्रत्याशित वृद्धि, मूल्य आकासिँदा पनि खपत घटेन

Author

NEPSE TRADING

सुन आयातमा ४ महिनामै ५८०% को अप्रत्याशित वृद्धि, मूल्य आकासिँदा पनि खपत घटेन

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा नेपालले अत्यधिक मात्रामा सुन आयात गरेको छ। भन्सार विभागका पछिल्ला तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा सुन आयात ५८० प्रतिशतले वृद्धि भएको हो।

गत वर्ष साउनदेखि कार्तिक मसान्तसम्म १३२ केजी सुन आयात हुँदा २८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर यस वर्ष सोही अवधिमा ९०२ केजी सुन भित्रिएको छ, जसबाट १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यसरी सुन आयातका कारण १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ देश बाहिरिएको छ — जुन गत वर्षको १ अर्ब ४२ करोड ७५ लाख भन्दा करिब दस गुणा बढी हो।

कार्तिक महिनामै ३०० केजी आयात, असोज एक्लैले ४०० केजी

पछिल्ला चार महिनामा आएको सुनमध्ये एक-तिहाइ हिस्सा कार्तिक महिनामा मात्रै भित्रिएको देखिन्छ। कार्तिकमा मात्रै ३०० केजी सुन आयात भएको भन्सार विभागले जनाएको छ।

यसअघि असोज मसान्तसम्म ६०० केजी सुन आयात भइसकेको थियो। नेपाल राष्ट्र बैंकले असोजको अन्तिम सातादेखि सुन आयात कोटा बढाएर २५ केजी पुर्‍याएपछि कार्तिकमा आयात ह्वात्तै बढेर ३०० केजी पुगेको हो।

चार महिनामध्ये सबैभन्दा धेरै सुन असोजमा आयात भएको छ। असोजमा मात्र ४०० केजी सुन भित्रिएको व्यवसायीहरू बताउँछन्। दशैं–तिहार लक्षित मागका कारण सो महिनामा आयात बढेको उनीहरूको धारणा छ।
साउन र भदौ महिनामा भने १००–१०० केजी का दरले सुन आयात भएको थियो।

मूल्य ५० दिनमै ५८ हजारले बढ्दा पनि खपतमा कमी आएन

नेपालमा पछिल्ला महिनामा सुनको मूल्य लगातार बढिरहेको छ।
भदौ ११ गते २ लाख रूपैयाँ को हाराहारीमा रहेको सुन असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

५० दिनको अवधिमा ५८ हजार रुपैयाँ ले मूल्य बढे पनि बजारको मागमा भने कमी देखिएन। व्यवसायीहरूका अनुसार मूल्य वृद्धि हुँदा पनि उपभोक्ता र व्यापारी दुबै पक्षबाट ‘भविष्यमा अझै महँगो हुन्छ’ भन्ने मनोविज्ञानले माग बढेको हो।

Related News