व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता ४९ लाख नाघ्यो
Author
NEPSE TRADING

व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म ४८ लाख ९२ हजार ८४० जना करदाताले व्यक्तिगत प्यान दर्ता गराएका छन्।
सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेपछि दर्ता गर्नेको संख्या तीव्र रूपमा बढेको हो। विभागका अनुसार सो अवधिमा मात्र नयाँ २० लाख १२ हजार ९०८ जना करदाताले व्यक्तिगत प्यान लिएका छन्।
त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या ३ लाख ४५ हजार ७२७ पुगेको छ भने अन्त:शुल्कमा दर्ता हुने करदाता १ लाख १९ हजार ४०२ पुगेका छन्। यसै अवधिसम्म ३५ हजार ८५३ करदाताले विथहोल्डर प्यान दर्ता गरेका छन्।
विभागले यस वर्ष भ्याटमा दर्ता भएर समेत कर विवरण पेश नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको छ। मूल्य अभिवृद्धि ऐन २०५२ अनुसार लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गर्ने प्रावधानअनुसार ती करदाताको विवरण सार्वजनिक गरिएको हो।