जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानी सुरु, २ अर्बभन्दा बढी रकम भुक्तानी
Author
NEPSE TRADING

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित हालसम्ममा २ अर्ब रुपैयाँभन्दा बढी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।
१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बीमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। तीमध्ये हालसम्म करिब २ अर्ब १ करोड ९८ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित बीमितहरूलाई भुक्तानी भइसकेको छ।
यी दाबीहरूको मूल्याङ्कन र अनुगमनका लागि २ हजार ७९१ वटा दाबीमा सर्भेयर खटाइएको छ र हालसम्म ६५४ सर्भे प्रतिवेदन पेश भइसकेका छन्।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र सोको रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको जनाएको छ। पुनर्बीमा कम्पनीले हालसम्म करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिइसकेको छ र ६० वटा दाबीको अनुगमन तथा मूल्याङ्कनका लागि संयुक्त बीमा सर्भेयर खटाइसकेको छ।
यससँगै, जेनजी आन्दोलनका क्रममा प्रभावित नागरिक तथा संस्थाहरूलाई क्षतिपूर्ति वितरणको औपचारिक र समन्वित प्रक्रिया सुरु भएको छ।