सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगरियोस् : सांसदहरूको सरकारलाई आग्रह
Author
NEPSE trading

सांसद विकास कोषका नाममा सांसदहरूलाई अनावश्यक रूपमा विवादमा तान्ने काम नगरियोस् भन्ने माग सांसदहरू स्वयंले उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै विभिन्न सांसदहरूले उक्त विषयमा सरकारलाई स्पष्ट सुझाव दिएका हुन्।
सांसद राजेन्द्रकुमार केसी ले संसदमा बोल्दै सांसद विकास कोष अन्तर्गत करिब ३४ अर्ब रुपैयाँ छुट्याउने तयारी भनी सार्वजनिक समाचारप्रति असन्तुष्टि जनाए। उनले यस्तो खालको बजेट व्यवस्थाले सांसदहरूलाई बदनाम बनाउने भन्दै बरु सांसदहरूलाई क्षेत्रीय योजना पहिचानमा सहभागी गराउनुपर्ने सुझाव दिए।
सांसद केसीले चालु आर्थिक वर्षमा १४ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिए तापनि हालसम्म साढे ९ खर्ब रुपैयाँ मात्रै संकलन भएको भन्दै लोकप्रियतावादी (पपुलिष्ट) बजेट नल्याउन पनि सरकारलाई सचेत गराए। उनले बजेट निर्माणमा कर्मचारीहरूको अत्यधिक प्रभाव परेको भनाइसमेत उल्लेख गर्दै यस्तो वातावरणको अन्त्य हुनुपर्ने माग राखे।
त्यस्तै, सांसद सूर्यप्रसाद ढकाल ले विदेशिने बाध्यतामा परेका नेपाली युवाहरूलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा संलग्न गराउने खालको बजेट ल्याउन आग्रह गरे। उनले कृषिमा आत्मनिर्भरता कायम गर्न सक्ने नीतिगत एवं बजेटीय व्यवस्था माग गरे।
सांसद रामकृष्ण यादव ले बजेटको प्राथमिकता जनताको वास्तविक आवश्यकता र अपेक्षा अनुरूप हुनुपर्नेमा जोड दिए। उनले कृषिमा बिचौलियाको भूमिका हटाउने, सांसद र संसद्को गरिमा बढाउने, र वैकल्पिक राजमार्गको निर्माणका लागि छुट्टै शीर्षकमा बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे।
यादवले पूर्वाधार निर्माणको कार्य छिटो टुंग्याउन रातको समयमा समेत काम गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि संसदमा राखे। सांसदहरूको सामूहिक धारणा अनुसार अबको बजेट नयाँ सोचसहितको, व्यावहारिक र पारदर्शी हुनुपर्ने स्पष्ट संकेत देखिएको छ।