नबिल बैंकलाई ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड
Author
NEPSE TRADING

नेपालको अग्रणी बैंक, नबिल बैंक लिमिटेडले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५’ अन्तर्गत ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड युरो मनी म्यागजिनद्वारा बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ र बैंकहरूको वार्षिक दिगो बैंकिङ कार्यक्रमहरूको मूल्याङ्कन गर्दै प्रदान गरिएको हो।
नबिल बैंकलाई यो अवार्ड बैंकिङ सेवाहरू, प्रविधिको प्रयोग, र दिगोपनामा गरेको महत्वपूर्ण पहलहरूको आधारमा प्रदान गरिएको हो। यस अवार्डले बैंकको ग्राहकहरूलाई उपलब्ध गराइरहेका सेवाहरू, वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण, र मानव अधिकारको संरक्षणमा गरिएको कार्यलाई उच्च मूल्याङ्कन गर्दै सम्मानित गरेको हो।
बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी) लाई आत्मसात गर्दै वातावरणीय, समाजिक र सुशासन सिद्धान्तमा आफ्नो कारोबारलाई आधार बनाउँदै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङको प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा ध्यान केन्द्रित गरेको छ।
नबिल बैंकले यस अघि पनि युरोमनी अवार्ड फर एक्सिलेन्सका विभिन्न विधामा पुरस्कार जितेको छ र यसअघि सन् २०१०, २०२०, २०२१, २०२२, र २०२४ मा पनि सम्मानित भइसकेको छ। नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।