·

नेशनल फण्ड म्यानेजमेन्ट : आईपीओ निष्कासन प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

Author

NEPSE TRADING

नेशनल फण्ड म्यानेजमेन्ट : आईपीओ निष्कासन प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागिएको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा २१ लाख ६ हजार कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल मूल्य रु. २१ करोड ६ लाख बराबर हुनेछ। यो सेयर कम्पनीको जारी पूँजीको २० प्रतिशत हो।

यो सम्बन्धी सम्झौता आज काठमाडौँको नयाँबानेश्वरस्थित सन्राइज क्यापिटलको कार्यालयमा सम्पन्न भयो। सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड तथा हेज फण्ड व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजत प्राप्त संस्था हो। साथै कम्पनीले बुक–बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता (Qualified Institutional Investor) का रूपमा पनि स्वीकृति प्राप्त गरेको छ।

कम्पनी हाल विविधिकृत निजी लगानी कोष “नेशनल इक्वीटी फण्ड–१” तथा उर्जा क्षेत्र लक्षित निजी इक्वीटी फण्ड “नेशनल हाईड्रो फण्ड–२” सञ्चालन गर्दै आएको छ। पूँजी संकलनदेखि कोष सञ्चालनसम्मको जिम्मेवारी कम्पनीले कोष व्यवस्थापकको हैसियतमा निर्वाह गर्दै आएको छ।

Related News