छिमेकी मुलुकको ठूलो अर्थतन्त्रसँग लय मिलाउन सके नेपाल बन्न सक्छ : डा. बाबुराम भट्टराई
Author
NEPSE trading

नेसपा (नयाँ शक्ति पार्टी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले छिमेकी देशको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अघि बढ्न सके मात्रै गरीबी, बेरोजगारीको दुश्चक्रबाट मुक्त हुने सम्भावना रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, “नेपालले नयाँ ढंगले विश्वसँग गति मिलाएर अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ। विशेष गरी छिमेकी देशको ठूलो अर्थतन्त्रसँग सन्तुलन मिलाएर अघि बढ्न सके दुश्चक्रबाट माथि उठ्न सकिन्छ।”
डा. भट्टराईले राजनीतिक परिवर्तन त आएको भए पनि बलिया संस्था निर्माणमा नेपाल चुकेको बताए। उनले ब्यूरोक्रेसी, वित्तीय संस्था, राजनीतिक संस्था, र भ्रष्टाचार नियन्त्रण निकायहरूलाई सुधार गरेर बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनको भनाइमा, “हामी ऐतिहासिक रूपमै सय वर्ष पछाडि परिसकेका छौं। अब संरचनात्मक रूपमा अघि बढ्नुपर्छ। राजनीतिक परिवर्तन गर्यौं, तर संस्थागत सुधार गर्न सकिएन। अब चाहिने कुरा भनेको संस्थागत बलियोपन हो।”
त्यस्तै, उनले नेपाललाई समृद्ध बनाउने बाटोको रूपमा औद्योगिक र कृषिप्रधान अर्थतन्त्रको रूपान्तरण, वित्तीय र मौद्रिक नीतिमा सुधार, र राज्य संस्थाहरूको विकासमैत्री भूमिका आवश्यक रहेको उल्लेख गरे।
डा. भट्टराईले अन्त्यमा भने, “अबको बाटो भनेको वृद्धि, वितरण र दिगोपन हो। यो अवधारणालाई गम्भीर रूपमा लिएर अघि बढ्न सक्यौं भने नेपाल बन्ने बाटो खुल्छ।”