नेपाल इन्स्योरेन्सको ३४.७८% हकप्रद सेयर साउन ६ देखि निष्कासन – साउन २६ सम्म आवेदन खुला
Author
NEPSE TRADING

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो, जसअनुसार १० कित्ता बराबरमा ३.४७८३ कित्ता नयाँ सेयर पाउने व्यवस्था गरिएको छ।
इन्स्योरेन्सले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर निष्काशन गर्दैछ, जसको कुल रकम रु. ६५ करोड ७६ लाख ९६ हजार ७७६ हुनेछ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको छ। जेठ २९ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन २६ गते तोकिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई IRN Single A Minus रेटिङ दिएको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने पर्याप्त क्षमता जनाउँछ। सेयर निष्काशन तथा बिक्री व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका कार्यालय, सी–आस्वा प्रणाली, मेरो सेयर पोर्टल, वा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा हकप्रद बाँडफाँटपछि २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ।