·

बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारी

Author

NEPSE TRADING

बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारी

विगत लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहँदै आएको छ। ब्याजदर निरन्तर घट्दै गए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लगानी विस्तार हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले थुप्रिएको तरलता अल्पकालीन वित्तीय उपकरणहरूमा लगानी गर्दै आएका छन्।

बैंकिङ प्रणालीमा तरलता अत्यधिक थुप्रिँदा ब्याजदर करिडोर व्यवस्थापनमा समेत चुनौती बढेपछि केन्द्रीय बैंकले पटक–पटक प्रणालीबाट रकम तान्दै आएको छ। सोही क्रममा नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज ८४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ।

यसअघि बैंकहरूले निक्षेप संकलन उपकरणमार्फत जम्मा गरेको ५ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ अझै परिपक्क हुन बाँकी रहेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। सो उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति चैत २१ गते तोकिएको छ भने ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्ने व्यवस्था गरिएको छ।

यसअघि केन्द्रीय बैंकले गत आइतबार पनि ८४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो। सो उपकरणमा १२ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ७५ करोड रुपैयाँ जम्मा गरेका थिए, जसको औसत ब्याजदर २.७४ प्रतिशत कायम भएको थियो। पुस महिना सुरु भएयता केन्द्रीय बैंकले दोस्रो पटक तरलता प्रशोचन गरेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा बढिरहेको भए पनि सोही अनुपातमा कर्जा माग नआउँदा तरलता थप थुप्रिँदै गएको छ। यसले राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे पर्न थालेको देखिन्छ।

चालु आर्थिक वर्ष सुरु भएयता निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३७ पटकमा कुल १३ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ प्रणालीबाट तानेको छ। यसैगरी, बैंकहरूले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत ३ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेका छन्। लगानी हुन नसकेको ८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँ बैंकहरूले राष्ट्र बैंकमै राखेका छन्।

हाल बैंक तथा वित्तीय संस्थाहरूसँग झण्डै साढे ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको अनुमान छ। बैंकिङ प्रणालीको कुल निक्षेप करिब ७६ खर्ब पुगेको छ भने यस अवधिमा ५६ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहे पनि हाल बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशत मात्र रहेको छ। यस आधारमा बैंकहरूसँग करिब ११ खर्ब ४१ अर्ब रुपैयाँ थप लगानीयोग्य रकम उपलब्ध रहेको देखिन्छ।

Related News